Wednesday, June 8, 2016

आर्थिक वर्षको अन्त्यमा बजेट सकाउँने परम्पराको निरन्तरता यथावत

समय छँदा हात बाँधेर बस्ने र समय सकिएपछि हतारमा काम गर्ने नेपाली संस्कार नै बनेको छ । यो संस्कार सडक निर्माणमा अझ बढी लागू हुने गरेको छ । यही संस्कारलाई निरन्तरता दिदै आर्थिक वर्ष २०७३÷७४को बजेट छिटो पेश भएपछि गत वर्षको आर्थिक बजेट धमाधम सकाउनका लागि यतिबेला विभिन्न क्षेत्रका सडक कालोपत्रे धमाधम सुरु भएको छ । आर्थिक वर्षको बजेट सकाउनका लागि बर्षायाममा यसरी सुरु गरिने कालोपत्रे झारो टार्ने काम गरेर सरकारको बजेट सकाउने कार्य मात्र भएको प्रष्ट बुझिन्छ । 

आर्थिक वर्ष ७३÷७४को बजेट सुरु भएसँगै त्यसको कार्यान्वयन हुनु अगावै अघिल्लो वर्षको बजेट सकाउनका लागि सडक विभाग, महानगरपालिका यतिखेर धमाधम लागिपरेका छन् । खानेपानी र ढलको पाइप लाइन हाल्ने कामले अधिकांश सडक विग्रेको झण्डै ६÷७ महिना बित्दा पनि कसैलाई कुनै पर्वाह थिएन । तर आगामी आर्थिक वर्षको बजेट आउने समय भएसँगै पुरानो बजेटको रकम सकाउँने उदेश्यले सडक मर्मत र कालोपत्रे सुरु गरेको छ । 
विभिन्न निकायका लागि सडक मर्मत र सडक चौडाको नाममा छुट्याइने रकम चालु आर्थिक वर्षमा नै समाप्त गर्नुपर्ने लक्ष्य सबैको हुने गर्दछ । तर, अन्तिम समयमा पुरा गर्दा दुनो सोझयाउने काम भएकाले यसले दिगो रुप लिन सक्दैन । यसैबीच सडक विभागले पाएको २५ करोड रुपैयामा २३ करोड रुपैया खर्च भइसकेको  । बाँकी रहेको २ करोड रकम पनि सिध्याउँन सडक विभाग यतिखेर कालोपत्रे र मर्मतका नाममा सडकमा बजेट खन्याउँन उद्यत रहेको छ । 
सडक विभाग त एउटा प्रतिनिधि निकाय मात्र हो ।  अन्तिम समयमा रातारात काम गरेर बजेट सकाउने र नया बजेटको लागि कसरत गर्ने सबै निकायको पुरानै तरिका हो । तसर्थ, बजेट कसरी सकाउँने भन्दा गरिएका लगानी कसरी दिगो बनाउँने भन्ने योजना बनाउँन आवश्यक देखिन्छ । अर्को कुरा हतारमा बजेट सकाउँने भन्दा प्रयोग नभएको रकमलाई रकमान्तरण गरेर देशको ढुकुटीलाई रित्तिनबाट जोगाउँने मानसिकताको विकास हुन आवश्यक छ ।
 Watch Video of this news on https://www.youtube.com/watch?v=KVsNtH_cdRQ
and don't forget to subscribe

No comments:

Post a Comment