Wednesday, June 8, 2016

चीनसँग कति माग्ने ??? माल पाएर चाल पाए पो !

12795489_445989362263704_643458468404722092_n
Pradeep Raj Dahal
नेपालका लागि चीन निरन्तर समृद्धिको सहयात्री हो । तर, दुखद् विषयचाहीं यो हो कि, नेपालले चीनसँगको सम्वन्ध र सहयोगबाट प्राप्त उपलब्धीलाई निरन्तर सदुपयोग गर्न सकेको छैन । चीनको सहयोगबाट नेपालमा दर्जनौं उद्योग र परियोजनाहरु खुलेको बिगत एक निर्भिक सत्य हो । तथापी नेपालले त्यस्ता परियोजनाहरुको सदुपयोग गर्न सकेको छैन । अहिले फेरि नेपाल सरकारको टोली थप सहयोगको अपेक्षा गर्दै चीन भ्रमणमा छ ।



चीनले नेपालको आर्थिक विकासका लागि विभिन्न उद्योग, ट्रलि बस, कारखाना, लगायतका थुप्रै सहयोग दिएको छ । तर, नेपालको सरकारी अक्षमताका कारण सबै उद्योग बन्द भएको छ । ट्रली बस सेवा, हरिसिद्धी टायल उद्योग, भृकुटी कागज कारखाना, हेटौंडा कपडा उद्योग, हिमाल सिमेन्ट बन्द भइसकेको छ । चिनियाँ सहयोगमा निर्माण भएका यी उद्योगहरू केही सरकार मातहतमै रहँदा बन्द भए भने केही निजीकरण पछि । चार दशकअघि विद्युतीय ट्रली बस सञ्चालन हुँदा काठमाडौंमा समृद्धिको अलगै रौनक थियो र मानिसहरु खुशी । ट्रली बस चलेपछि तत्कालिन समयमा राजधानीको यातायात धेरै सहज बनेको थियो । सहज यातायातका लागि मात्र होइन राजधानीकै शान बनेको थियो ट्रली बस । तर, अहिले ट्रली बस सेवा पूर्णरुपमा बन्द भइसकेको छ । नयाँ पुस्ताका लागि त यो एक इतिहासजस्तै बनेको छ । चिनियाँ सहयोगमा प्राप्त ट्रली बस सेवा बन्द हुनु दिने र लिने दुवैका लागि पीडाको विषय हो । जुन चक्रपथ र सूर्य विनायकदेखि कलंकीसम्म चल्थ्यो । नेपाल सरकारको कमजोर व्यवस्थापनकै कारण ट्रली बस सेवा बन्द भएको हो यसमा दुई मत रहेन । ०३२ सालमा स्थापित ट्रली बस सेवा ०४५ सालसम्म नाफामै चलिरहेको थियो । प्रजातन्त्रको उदयसँगै बढेको राजनीतिकरण र अव्यवस्थापनका कारण ०६६ सालदेखि पूर्णरुपमै बन्द भएको हो । अब त भग्नावशेष मात्र बाँकी छ ।
यो त एक उदाहरण मात्र हो, चीनले सहयोग गरेका विभिन्न उद्योग, अस्पतालहरु पनि चलेका भन्दा बन्द भएकाको सङख्या धेरै छ । र, यतिवेला प्रधानमन्त्री चीन भ्रमण छन्, उनको भ्रमण समयमा चिनियाँ एक्सपोर्ट–इम्पोर्ट एक्जिम बैंकसँग ऋण सम्झौता साथै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन १४ अर्ब सहुलियत ऋण र करिव ७ अर्ब अनुदान सहयोग दिन लागेको छ । यसैगरी चीनले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई आन्तरिक उडानका लागि ६ वटा जहाज दिएको छ ।
चीनले २ वटा जहाज अनुदान र ४ वटा जहाज सहुलियत ऋणमा दिएको हो । जसमध्ये २ वटा अनुदानका जहाज नेपाल आएर व्यवसायिक उडान गरिरहेका छन् । बाँकी ऋण सहयोगका जहाज ल्याउन बाँकी छ । बिगत र वर्तमानको यथार्थ अनुसार चीनले नेपाललाई निरन्तर मद्दत गरिरहेको छ । मात्र नेपालले त्यसको व्यवस्थपान राम्रोसँग गर्न सकिरहेको छैन । यस्तो वेला पाएका सहयोगलाई सदुपयोग नगर्ने तर थप सहयोगको मात्र अपेक्षा गरिरहेछ सरकार । तर, चीनले अहिलेसम्म पनि कुनै दोष नदिई सहयोगको हातमा हात राखिदिइरहेको छ । यो उसको उदारता हो र नेपाललाई खुशी पार्ने शैली । त्यसैले नेपाल सरकारले पनि सहयोग थोपरेर ऋणी मात्रै बनिरहनुभन्दा लिएको सहयोगको व्यवस्थापन र संरक्षण गर्नसके दिने पनि खुशी, लिनेको पनि उन्नति हुनसक्थ्यो ।
खाली हात थापेर मागिरहनुभन्दा पाएको सहयोगको सदुपयोग गर्नेतिर पनि ध्यान दिन जरुरी छ । प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा चीनसँग सम्झौता र लगानीको वातावरण बनाउने साथै पाएका सहयोगको कार्यान्वयन गर्ने र नयाँ पाउने सहयोगलाई नयाँ ढङ्गबाट पूरा गर्ने प्रतिवद्धता जनाउनु जरुरी छ ।

No comments:

Post a Comment